Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

उपचार खर्च फिर्ताबारे ओली मौन, सचिवालय बैठकमै उठ्यो प्रश्न


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोषबाट भीभीआईपीहरूको उपचार खर्च सरकारलाई फिर्ता गरिएको विषयमा उठेका प्रश्नको जवाफ दिएका छैनन्। कार्यकर्ता पंक्ति र नेताहरूले यसबारे चासो व्यक्त गरे पनि ओली बैठकमा मौन बसेका हुन्।

एमाले सचिवालय बैठकमा उपाध्यक्ष गोकर्ण बिष्टले उपचार खर्च फिर्ता गरिएको विषयमा स्पष्ट धारणा मागेका थिए। उनले कार्यकर्ताको लेबीबाट संकलित रकम नेतृत्वको निर्णय ढाकछोप गर्न प्रयोग गरिएको भन्ने गुनासो आएको उल्लेख गर्दै यस्तो कदम उचित हो वा होइन भन्ने प्रश्न उठाएका थिए।

बैठकमा अन्य पदाधिकारीहरूले पनि बिष्टको जिज्ञासाप्रति समर्थन जनाउँदै जवाफ आवश्यक रहेको बताएका थिए। तर चार दिनसम्म चलेर आइतबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले उक्त विषयमा कुनै प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्य कोषबाट गैरकानुनी रूपमा विदेश उपचार खर्च व्यहोर्ने निर्णयबारे छानबिन थालेपछि एमालेले पार्टी कोषबाट रकम सरकारलाई फिर्ता गरेको थियो।

एमालेले पूर्वराष्ट्रपति रामवरण यादव तथा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनालको विदेश उपचारमा खर्च भएको ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ पार्टी कोषबाट फिर्ता गरेको जनाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट