साविक विजेता बैंगलोर आईपीएलको उपाधि नजिक
काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि नजिक पुगेको छ । गुजरात टाइटन्सलाई ९२ रनले पाखा लगाउँदै आरसिबी लगातार दोस्रो पटक आईपीएलको फाइनलमा पुगेको हो ।
कप्तान रजत पाटीदारको विस्फोटक इनिङ्सको मद्दतमा आरसिबीले २० ओभरमा पाँच विकेटको क्षतिमा २५४ रनको विशाल स्कोर बनाएको थियो। जवाफमा गुजरात १९।३ ओभरमा १६२ रनमा समेटियो । गुजरातसँग भने अझै फाइनल पुग्ने एउटा अवसर बाँकी छ।
आज हुने हैदराबाद र राजस्थानबीचको इलिमिनेटरको विजेतासँग गुजरातले शुक्रबार क्वालिफायर–२ मा प्रतिस्पर्धा गर्नेछ। गुजरातका राहुल तेवतियाले अर्धशतक बनाए पनि अन्य कुनै ब्याटरले ठूलो इनिङ्स खेल्न सकेनन्। गुजरातका आठ ब्याटर दोहोरो अंकमा समेत पुग्न सकेनन्।
आरसिबीका लागि ज्याकब डफीले तीन विकेट लिए। भुवनेश्वर कुमार, रासिख सलाम डार र क्रुणाल पाण्ड्याले समान दुई विकेट लिए भने जोस हेजलउडले एक विकेट लिए। यसअघि टस हारेर ब्याटिङमा आएको आरसिबीका लागि भेङ्कटेश अय्यर र विराट कोहलीले सुरुदेखि नै आक्रामक ब्याटिङ गरे।
भेङ्कटेश १९ रन बनाएर आउट भए। त्यसपछि विराट कोहली र देवदत्त पडिक्कलको जोडीले पावरप्लेमा आरसिबीले एक विकेटको क्षतिमा ७६ रन बनायो । विराट कोहलीले ४३ रन बनाए । देवदत्त पडिक्कलले पनि ३० रनको योगदान दिए।
आरसिबीले अन्तिम छ ओभरमा ११४ रन जोड्दै आइपिएल प्लेअफ इतिहासकै विशाल स्कोरमध्ये एक बनायो। आरसिबीका लागि क्रुणाल पाण्ड्याले २८ बलमा पाँच चौका र दुई छक्कासहित ४३ रन बनाए।
जितेश शर्माले पाँच बलमा एक चौका र एक छक्कासहित १५ रनमा अविजित रहे। गुजरातका लागि कागिसो रबाडा र जेसन होल्डरले दुई–दुई विकेट लिए भने प्रसिद्ध कृष्णाले एक विकेट हात पारे।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया