Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

नेपाल–इजरायल सम्बन्ध सुदृढ बनाउन कानुनी सहकार्य विस्तारको छलफल


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा कानुनी र संस्थागत सहकार्य विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
नेपाल–इजरायल कूटनीतिक सम्बन्ध ६६औँ वर्षमा प्रवेश गरिरहेका बेला दुई देशबीच आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा विशेष चासो व्यक्त गरिएको थियो।
इजरायल सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत नेपालका विभिन्न मन्त्रालयसँग सहकार्य गर्दै आवश्यक कानुनी दस्तावेज निर्माण र द्विपक्षीय सम्बन्धलाई औपचारिक रूपमा थप मजबुत बनाउने तयारीबारे पनि धारणा राखेको बताइएको छ।
भेटमा मन्त्री गौतमले न्यायमा नागरिकको पहुँच सहज बनाउन संघ, प्रदेश र स्थानीय तहका कानुनलाई एउटै डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउने गरी मन्त्रालयले डिजिटाइजेसनको काम अघि बढाइरहेको जानकारी दिइन्।
उनले एकीकृत कानुनी सहायता, पारस्परिक कानुनी सहयोग, संक्रमणकालीन न्याय तथा संसदीय मामिलासम्बन्धी क्षेत्रमा इजरायलसँग सहकार्य गर्न नेपाल सकारात्मक रहेको बताइन्।
दुई पक्षबीच कानुनी संरचना सुदृढीकरण, अनुभव आदान–प्रदान तथा संस्थागत सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा सकारात्मक समझदारी भएको मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट