Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

शिक्षा–खेलकुदमा रूपान्तरणको आधार तयार गर्ने बजेट : मन्त्री पोखरेल


काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षको बजेटले शिक्षा र खेलकुद क्षेत्रलाई आधुनिक, व्यवस्थित र परिणाममुखी बनाउने दिशामा महत्वपूर्ण आधार तयार गरेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले शिक्षामा संरचनागत सुधार, प्रविधिको प्रयोग तथा अनुसन्धानमुखी प्रणाली विकासलाई बजेटले प्राथमिकतामा राखेको उल्लेख गरेका छन्। विद्यालयको राष्ट्रिय नक्सांकन, शैक्षिक पूर्वाधारको अडिट, शिक्षकको क्षमता परीक्षण तथा कृत्रिम बौद्धिकता एआई र शैक्षिक प्रविधिको अवस्थाबारे मूल्यांकन गर्ने कार्यक्रममार्फत शिक्षालाई समयानुकूल बनाउने लक्ष्य लिइएको उनको भनाइ छ।

मन्त्री पोखरेलका अनुसार छात्रवृत्ति कार्यक्रमका लागि ८ अर्ब ६० करोड रुपैयाँ र सामुदायिक विद्यालयको पूर्वाधार व्यवस्थापनका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र सीपसँग जोड्दै चिकित्सा, नर्सिङ तथा सूचना प्रविधि शिक्षाको पहुँच विस्तार गर्ने नीति बजेटमा समावेश गरिएको उनले बताएका छन्।
खेलकुद क्षेत्रतर्फ राष्ट्रिय पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले आगामी तीन वर्षभित्र १० वटा फुटबल रंगशालाको स्तरोन्नति, ८ सहरमा क्रिकेट रंगशाला तथा ७ सहरमा बहुउद्देश्यीय इनडोर स्टेडियम निर्माण गर्ने लक्ष्य तय गरिएको जानकारी दिएका छन्।
विद्यालयस्तरबाटै प्रतिभाशाली खेलाडी पहिचान, आवासीय प्रशिक्षण कार्यक्रम, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीका लागि आजीवन निःशुल्क स्वास्थ्य सेवा तथा खेल क्षेत्रलाई आर्थिक गतिविधिसँग जोड्ने योजनाले खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास उनले व्यक्त गरेका छन्।
शिक्षाका लागि २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ र खेलकुदका लागि ४ अर्ब ३ करोड रुपैयाँ विनियोजन भएको उल्लेख गर्दै मन्त्री पोखरेलले बजेटलाई परिवर्तनको प्रारम्भिक खाका र भविष्य निर्माणको आधारका रूपमा व्याख्या गरेका छन्। उनले बजेट निर्माण प्रक्रियामा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको नेतृत्वको समेत प्रशंसा गरेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट