Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

महामन्त्री शाह भन्छन्- ढुक्क हुनुस्, देश बनाउँछौँ


भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का महामन्त्री भूपदेव शाहले पार्टी नेतृत्वको सरकारले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्दै देश विकासको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने बताएका छन्।
चितवनको भरतपुरमा आयोजित रास्वपा भरतपुर महानगर समितिको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको बजेट पार्टीको चुनावी वाचापत्रअनुसार ल्याइएको उल्लेख गरे। बजेटमार्फत जनतासामु व्यक्त गरिएका प्रतिबद्धताहरू कार्यान्वयनमा लैजान सरकार केन्द्रित रहेको उनको भनाइ थियो।
शाहले पार्टीले स्वच्छ नियतका साथ काम गरिरहेको दाबी गर्दै जनविश्वास कायम राख्न सरकार र पार्टी दुवै प्रतिबद्ध रहेको बताए। उनले वाचापत्रलाई व्यवहारमा उतार्दै विकास र सुशासनका लक्ष्य हासिल गर्न आफूहरू लागिपरेको उल्लेख गरे।
कार्यक्रममा उनले राजनीतिमा सकारात्मक र नकारात्मक प्रवृत्तिबीच निरन्तर संघर्ष हुने भन्दै पार्टी र राष्ट्रप्रतिको समर्पणलाई प्राथमिकतामा राख्न कार्यकर्ताहरूलाई आग्रह गरे। योगदानकर्ता कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै बलियो संगठन निर्माणमार्फत देश परिवर्तन सम्भव हुने बताए।

महामन्त्री शाहले रास्वपाले दीर्घकालीन रूपमा देशको नेतृत्व गर्न सक्ने आधार तयार भइरहेको दाबी गर्दै अहिले संगठन सुदृढीकरणको महत्वपूर्ण चरण रहेको बताए। उनले आगामी महाधिवेशनलाई लक्षित गर्दै सबै तहका नेता–कार्यकर्तालाई पार्टी निर्माण अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गरे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट