अमेरिकी उपविदेशमन्त्री काठमाडौंमा
काठमाडौं । अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी। रोजर्स तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन्। उनी शनिबार साँझ भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएकी हुन्।
नेपालस्थित अमेरिकी राजदूतावासले आयोजना गर्ने ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेकी रोजर्सले भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालसहित विभिन्न उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
बालेन सरकार गठनपछि अमेरिकाबाट भएको यो तेस्रो उच्चस्तरीय भ्रमण हो। यसअघि वैशाख ८ गते दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पाउल कपुर तथा वैशाख १७ गते दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले नेपाल भ्रमण गरेका थिए।
रोजर्सको भ्रमणलाई नेपाल–अमेरिका सम्बन्ध, सार्वजनिक कूटनीति तथा द्विपक्षीय सहकार्यका विषयमा केन्द्रित महत्वपूर्ण कूटनीतिक भ्रमणका रूपमा हेरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया