पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन प्रतिवेदन आज सरकारलाई बुझाइँदै
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा गरिएको अध्ययन तथा छानबिनको प्रतिवेदन आज सरकारलाई बुझाइने भएको छ।
मन्त्रिपरिषद्को वैशाख २८ गतेको निर्णयअनुसार गठन गरिएको तीन सदस्यीय समितिले गुरुङसँग उठेका विवादित विषयहरूबारे विस्तृत अध्ययन पूरा गरी राय–सुझावसहितको प्रतिवेदन तयार पारेको हो।
समितिको अध्यक्षता उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले गरेका छन् भने सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणी नेउपाने रहेका छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।
प्रतिवेदनमा प्रमाणका आधारमा निष्कर्षसहित दोषी वा निर्दोषबारे स्पष्ट राय प्रस्तुत गरिएको बताइएको छ।
व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। त्यसपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी जम्मा २६ दिन मात्र गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका भट्टसँग जोडिएको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिदसम्बन्धी विषयले थप प्रश्न उठाएको थियो।
गुरुङले भने आफूले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया