Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

इरानमाथि इजरायलले गर्यो आक्रमण, तेहरान विमानस्थलका उडान स्थगित


काठमाडौं । इजरायलले इरानमा फेरि आक्रमण गरेको छ । इरानले आइतबार मिसाइल प्रहार गरेको जवाफमा आफूले पनि आक्रमण गरेको इजरायलको भनाइ छ ।

आक्रमणको स्थान वा क्षतिको विस्तृत विवरण भने दिइएको छैन । तर इरानको सरकारी टेलिभिजन च्यानलले राजधानी तेहरानसहित तीन शहरमा विस्फोट भएको जानकारी दिएको छ । कराज नजिकका क्षेत्रमा समेत विस्फोट भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आक्रमणपछि तेहरानस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै उडान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको इरानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

यसअघि इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेपछि इरानले इजरायलतर्फ मिसाइल प्रहार गरेको थियो। त्यसको प्रतिक्रियास्वरूप इजरायलले इरानमाथि आक्रमण गरेको बताइएको छ।

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले जारी गरेको विज्ञप्तिमा यो ‘निरन्तर प्रतिकारात्मक कारबाहीको सुरुवात’ भएको उल्लेख गर्दै इजरायलले थप आक्रमण गरे अझ व्यापक जवाफ दिइने चेतावनी दिएको छ। आईआरजीसीले आवश्यक परे क्षेत्रमा रहेका अमेरिकी तथा इजरायली सैन्य अड्डाहरू पनि निशानामा पर्न सक्ने संकेत गरेको छ।

यसैबीच, इरानले अमेरिका र इजरायलले अप्रिलमा लागू भएको युद्धविराम सम्झौताको पालना नगरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयका अनुसार युद्धविराम बारम्बार उल्लङ्घन भएपछि इजरायलद्वारा नियन्त्रणमा रहेका केही सैन्य अड्डाहरूलाई निशाना बनाइएको हो।

अप्रिल १७ देखि युद्धविराम लागू भए पनि दुवै पक्षबाट पटक–पटक उल्लङ्घन हुँदै आएको इरानको दाबी छ। साथै, अमेरिकाले पनि इरानी सैन्य संरचनामाथि आक्रमण जारी राखेको आरोप इरानले लगाएको छ।

इरानले आफ्नो राष्ट्रिय सुरक्षा र हितको रक्षा गर्न प्रतिबद्ध रहेको दोहोर्‍याउँदै इजरायलले पुनः इरान वा लेबनानमाथि आक्रमण गरे कडा र व्यापक जवाफ दिइने चेतावनी दिएको छ।

उता, बेरुतमा भएको इजरायली आक्रमणपछि तेहरानमा सरकार समर्थकहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागीहरूले इरान र हिज्बुल्लाहका झण्डा बोकेर सरकारप्रति समर्थन जनाएका थिए। हिज्बुल्लाह लेबनानमा सक्रिय राजनीतिक तथा सैन्य संगठन हो, जसलाई इरानको समर्थन रहेको मानिन्छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट