३५ करोड लगानीमा ‘ओरा’ ब्रान्ड, नेपालमै अन्तर्राष्ट्रियस्तरका कस्मेटिक्स उत्पादनको दाबी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष विनोद कुँवर को नेतृत्वमा स्थापित एन.के. कस्मेटिक्स प्रालि ले आफ्नो ‘ओरा’ ब्रान्डमार्फत नेपालमा आधुनिक औद्योगिकीकरण र स्वदेशी उत्पादन प्रवर्द्धनमा योगदान पुर्याएको दाबी गरेको छ।
कम्पनीका अनुसार इमाडोल मा स्थापना गरिएको उद्योगमा ३५ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ। कोरियन प्रविधि, अनुसन्धान तथा उत्पादन मापदण्डलाई नेपाली उद्यमशीलतासँग जोडेर स्किन केयर तथा कस्मेटिक्स उत्पादन भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अध्यक्ष विनोद कुँवरले विदेशमा आर्जन गरेको सीप, अनुभव र पूँजीलाई नेपालमै लगानी गर्नु आफ्नो दायित्व भएको बताउँदै ‘ओरा’ ब्रान्डमार्फत नेपालमै अन्तर्राष्ट्रियस्तरका उत्पादन निर्माण गर्न सकिने सन्देश दिन खोजिएको बताए।
त्यस्तै, कम्पनीकी प्रबन्ध निर्देशक तथा एनआरएनए सह-कोषाध्यक्ष गङ्गा खतिवडा ले ओरा ब्रान्डका उत्पादनहरू कोरियन प्रविधिमा आधारित रहेको र नेपाली मौसम, वातावरण तथा छालाको प्रकृतिअनुसार विकास गरिएको दाबी गरिन्।
हाल कम्पनीले फेस केयर, स्किन केयर तथा व्यक्तिगत सौन्दर्य सामग्री बजारमा ल्याइसकेको जनाएको छ। निकट भविष्यमा थप १० देखि १५ नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी रहेको कम्पनीको भनाइ छ। पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगले १०० भन्दा बढी प्रकारका कस्मेटिक्स तथा व्यक्तिगत हेरचाहसम्बन्धी सामग्री उत्पादन गर्न सक्ने जनाएको छ।
कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरिरहेको दाबी गर्दै दक्षिण एसिया, मध्यपूर्व तथा युरोपेली बजारमा नेपाली उत्पादन निर्यात गर्ने लक्ष्यसहित अघि बढिरहेको जनाएको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया