विश्वकपमा ऐतिहासिक स्तब्धता: पूर्व विजेता स्पेनलाई नवप्रवेशी केप भर्डेले रोक्यो
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगितामा समूह ‘एच’ अन्तर्गतको पहिलो खेलमै अप्रत्याशित नतिजा निस्किएको छ। विश्वकपको अनुभवी तथा उपाधि दाबेदार स्पेनलाई प्रतियोगितामा पहिलो पटक सहभागी बनेको अफ्रिकी राष्ट्र केप भर्डेले गोलरहित बराबरीमा रोक्दै ऐतिहासिक अंक बटुलेको हो।
अमेरिकाको एटलान्टा रंगशालामा सोमबार राति सम्पन्न खेलमा स्पेनले सुरुदेखि नै खेलमाथि नियन्त्रण कायम राखे पनि गोल गर्न असफल रह्यो। बल पोसेसन, पास र आक्रमणका अधिकांश तथ्यांकमा स्पष्ट रूपमा अघि रहेको स्पेनले खेलभर दबाब बनाएको थियो।स्पेनले ७४ प्रतिशत बल नियन्त्रणमा राख्दै २७ पटक गोलको प्रयास गरेको थियो। त्यसमध्ये ८ प्रहार लक्ष्यतर्फ रहे पनि केप भर्डेका अनुभवी गोलकिपर वाजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै सबै प्रयास विफल पारिदिए।
४० वर्षीय वाजिन्हा खेलका नायक बने। उनले महत्वपूर्ण सात बचाउ गर्दै आफ्नो टोलीलाई विश्वकप इतिहासकै महत्वपूर्ण अंक दिलाए। विशेषगरी स्पेनका फेरान टोरेस र आयमेरिक लापोर्टका खतरनाक प्रहार रोक्दै उनले विपक्षीको निराशा बढाएका थिए।स्पेनले दोस्रो हाफमा थप आक्रामक खेल प्रदर्शन गर्ने प्रयासस्वरूप युवा स्टार लामिन यामाललाई मैदान उतारेको थियो। चोटबाट फर्किएका यामालले खेलमा गति थप्दै केही आकर्षक अवसर सिर्जना गरे पनि अन्तिम परिणाम बदल्न सकेनन्।
केप भर्डेको संगठित रक्षापङ्क्ति तथा अनुशासित खेल शैलीका कारण स्पेनले गोलको खाता खोल्न नसक्दा खेल अन्ततः को बराबरीमा टुंगियो।
यस नतिजापछि समूह ‘एच’ मा स्पेन र केप भर्डे दुवैले समान १–१ अंक प्राप्त गरेका छन्। अब समूहका आगामी खेलहरूले नकआउट चरणको समीकरण थप रोचक बनाउने अपेक्षा गरिएको छ।समूह ‘एच’ अन्तर्गत स्पेनले आफ्नो दोस्रो खेलमा साउदी अरेबियाको सामना गर्नेछ भने केप भर्डेले उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया