विश्वकपमा उरुग्वे रोकियो, साउदी अरबले बलियो टोलीसँग महत्वपूर्ण अंक खोस्यो
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को प्रतिस्पर्धात्मक खेलमा उरुग्वे र साउदी अरबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा साउदी अरबले प्रभावशाली प्रदर्शन गर्दै दुईपटकको विश्व विजेता उरुग्वेलाई दबाबमा राखेको थियो।
खेलको सुरुआतदेखि नै संगठित र आत्मविश्वासी देखिएको साउदी अरबले पहिलो हाफमा उत्कृष्ट अवसर सिर्जना गर्दै अग्रता लिन सफल भयो। ४१औँ मिनेटमा अब्दुल्लाह अलाम्रीले गरेको आकर्षक गोलमार्फत साउदीले खेलमा १–० को अग्रता बनाएको थियो। पहिलो हाफभर उरुग्वेका आक्रमणहरूलाई नियन्त्रणमा राख्दै साउदीले आफ्नो रणनीति सफल बनाएको देखियो।
पछाडि परेको अवस्थामा दोस्रो हाफमा उरुग्वे थप आक्रामक रूपमा प्रस्तुत भयो। बल नियन्त्रण र आक्रमणको गति बढाएको उरुग्वेले लगातार अवसर सिर्जना गरे पनि साउदीको रक्षापंक्तिले लामो समयसम्म दबाब झेल्यो।
खेल सकिन १० मिनेट बाँकी रहँदा म्याक्सी अराजोले महत्वपूर्ण गोल गर्दै उरुग्वेलाई बराबरीमा फर्काए। ८०औँ मिनेटमा आएको उक्त गोलले उरुग्वेलाई हारबाट जोगाएको थियो।
बराबरीपछि खेल थप रोमाञ्चक बनेको थियो। अन्तिम समयतिर दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल हुन नसक्दा खेल १–१ को नतिजामा समाप्त भयो।
यस नतिजासँगै समूह ‘एच’ को प्रतिस्पर्धा थप रोचक बनेको छ। नकआउट चरणमा स्थान सुरक्षित गर्न अब उरुग्वे र साउदी अरब दुवैका लागि आगामी खेल निर्णायक हुनेछन्। पहिलो खेलबाट समान एक–एक अंक जोड्न सफल भएका यी टोलीहरू अब जितको खोजीमा मैदान उत्रने तयारीमा छन्।
यसैबीच, मंगलबार नै सम्पन्न अर्को खेलमा बेल्जियम र इजिप्टले पनि १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्, जसले प्रतियोगिताको सुरुआती चरणलाई अझ प्रतिस्पर्धात्मक बनाएको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया