उपाधि रक्षा अभियानमा अर्जेन्टिना, पहिलो खेलमा अल्जेरियाको चुनौती
काठमाडौं । साविक विश्वविजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा आफ्नो उपाधि रक्षा अभियान बुधबारबाट सुरु गर्दैछ। समूह ‘जे’ अन्तर्गत अर्जेन्टिनाले अफ्रिकी राष्ट्र अल्जेरियासँग प्रतिस्पर्धा गर्नेछ।
अमेरिकाको मिसौरी राज्यस्थित कन्सास रंगशालामा हुने खेल नेपाली समयअनुसार बुधबार बिहान ६:४५ बजे सुरु हुनेछ। विश्व फुटबलको महाशक्ति मानिएको अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिँदा अल्जेरिया भने इतिहासमा दोस्रोपटक नकआउट चरण पुग्ने योजनामा हुनेछ।
प्रशिक्षक लियोनल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिना दक्षिण अमेरिकी छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा पुगेको हो। छनोटका क्रममा अर्जेन्टिनाले परम्परागत प्रतिद्वन्द्वी ब्राजिललाई ४–१ ले पराजित गर्दै आफ्नो दाबेदारी बलियो बनाएको थियो।कप्तान लियोनल मेसीको नेतृत्वमा रहेको टोली पछिल्लो समय उत्कृष्ट लयमा छ। विश्वकपअघि खेलेका सातवटै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जितेको अर्जेन्टिनाले २१ गोल गर्दा मात्र एक गोल व्यहोरेको थियो।
अर्जेन्टिनाका लागि अल्जेरियाविरुद्धको खेल विशेष महत्वको छ। कप्तान मेसीले यस खेलमार्फत आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल खेल्नेछन्। साथै उनी विश्वकपका ६ संस्करण खेल्ने पहिलो फुटबलर बन्ने कीर्तिमान नजिक पुगेका छन्।यद्यपि अर्जेन्टिनाले विपक्षीलाई कमजोर रूपमा लिने अवस्थामा छैन। गत विश्वकपको सुरुआती खेलमा साउदी अरेबियासँग भोगेको अप्रत्याशित हारबाट टोलीले पाठ सिकेको छ। त्यसैले पहिलो खेलबाटै सकारात्मक सुरुआत गर्ने लक्ष्य अर्जेन्टिनाको हुनेछ।
अल्जेरिया पनि यसपटक आत्मविश्वासका साथ विश्वकपमा प्रवेश गरेको छ। छनोट चरणमा प्रभावशाली प्रदर्शन गर्दै आएको टोलीले विश्वकपअघिका चार मैत्रीपूर्ण खेलमध्ये तीनमा जित निकालेको थियो। युरोपेली टोली नेदरल्यान्ड्समाथिको जितले पनि अल्जेरियाको मनोबल उच्च बनाएको छ।अल्जेरियाका कप्तान रियाद माहरेज तथा स्ट्राइकर मोहम्मद अमौरा टोलीका प्रमुख हतियार मानिएका छन्। छनोट चरणमा अमौराले १० गोल गर्दै टोलीलाई विश्वकपसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।
दुई टोलीबीच हालसम्म एकपटक मात्र भेट भएको छ। सन् २००७ मा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ४–३ ले पराजित गरेको थियो। उक्त खेलमा मेसीले दुई गोल गरेका थिए।यसै समूहको अर्को खेलमा अस्ट्रियाले जोर्डनको सामना गर्नेछ। उक्त खेल बुधबार बिहान ९:४५ बजे हुनेछ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया