प्रधानमन्त्री बालेनको सीमा अभिव्यक्तिबारे गोप्य मतदानको माग गर्दै कांग्रेस सांसदको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमा विवादबारे दिएको अभिव्यक्तिउपर संसद्मा गोप्य मतदान गराउन प्रस्ताव गरेको छ।
मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू उठेपछि सभामुखले समय दिएका थिए। त्यस क्रममा कांग्रेस सांसद रेखा कुमारी यादवले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा गोप्य मतदान गराउनुपर्ने प्रस्ताव राखिन्।उनका अनुसार प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको टिप्पणी गम्भीर प्रकृतिको भएकाले त्यसबारे संसद्ले स्पष्ट निर्णय लिनुपर्छ।
“गोप्य मतदान गरौं सभामुख महोदय, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्तापक्ष र प्रतिपक्ष सबैको धारणा स्पष्ट होस्,” उनले भनिन्, “यदि सत्तापक्षले पनि यसलाई स्वीकार्य ठान्छ भने त्यहीअनुसार निर्णय गरौं।”
गत जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहले भारतसँगै नेपालको सीमा मात्र होइन, नेपालले पनि भारततर्फका केही स्थानमा भूमि मिचिएको हुन सक्ने उल्लेख गरेका थिए। उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्।सांसद यादवले परराष्ट्रमन्त्रीबाट आएको जवाफलाई समेत आलोचना गर्दै त्यसलाई “केटाकेटीलाई ललिपप देखाएजस्तो” भएको टिप्पणी गरिन्।
उनले मन्त्रीको जवाफ विषयगत जिम्मेवारीभन्दा बाहिर रहेको दाबी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्ट संसदीय व्याख्या आवश्यक रहेको बताइन्।सांसद यादवले सीमा क्षेत्रमा भइरहेका गतिविधिबारे पनि प्रश्न उठाउँदै सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बलको उपस्थिति र दार्चुलामा भारतीय हेलिकप्टर नेपाली आकाशमा उडेको जस्ता घटनाप्रति सरकारको जवाफ मागिन्।उनका अनुसार यस्ता विषयलाई गम्भीर रूपमा नलिइए संसद् र जनतामा गलत सन्देश जाने खतरा हुन्छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया