अमेरिका–इरान शान्ति सम्झौता : सकारात्मक सन्देश दिन सरकारलाई सांसद हमालको आग्रह
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले अमेरिका र इरानबीच भएको शान्ति सम्झौताबाट उत्पन्न हुने सकारात्मक अवसरलाई नेपालले सही रूपमा उपयोग गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विश्व राजनीतिमा देखिएको पछिल्लो कूटनीतिक विकासलाई नेपालले पनि सकारात्मक दृष्टिकोणले लिनुपर्ने बताए।
सांसद हमालले हालै अमेरिका–इरानबीच इलेक्ट्रोनिक माध्यमबाट प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको समाचारप्रति उल्लेख गर्दै यसले विश्वमा दीर्घकालीन शान्तिको सम्भावना बढाएको धारणा व्यक्त गरे।
“हिजो बेलुका इलेक्ट्रोनिक रूपमा एमओयूमा हस्ताक्षर भएको कुरा आएको छ। नेपालको संसदबाट पनि यसलाई सकारात्मक रूपमा विश्वसामु स्पष्ट सन्देश जाने गरी प्रस्तुत गर्न सभामुखमार्फत आग्रह गर्दछु,” उनले भने।
उनका अनुसार आगामी चरणमा औपचारिक हस्ताक्षर प्रक्रिया पूरा भएपछि विश्वले स्थायी शान्तिको नयाँ अवसर प्राप्त गर्नेछ।
सांसद हमालले यस घटनालाई विश्व राजनीतिक संरचनामा नयाँ शक्ति सन्तुलनको संकेतका रूपमा व्याख्या गर्दै बहुध्रुवीय विश्व व्यवस्थातर्फ प्रवेश भइरहेको बताए।
उनले नेपालले आफ्नो राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतालाई ध्यानमा राख्दै यस्तो अन्तर्राष्ट्रिय परिस्थितिबाट सकारात्मक लाभ लिनुपर्नेमा जोड दिए।
“अब हामी नयाँ शक्ति सन्तुलनको चरणमा प्रवेश गर्दैछौं। नेपालले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर यस परिस्थितिबाट सकारात्मक अवसर लिनुपर्छ,” उनले भने।
क्याटेगोरी : राजनीति












प्रतिक्रिया