Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गरेका छन्।

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले मंगलबार बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन्।

मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई उजागर गर्दै थप सक्षम र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएको दूतावासले जनाएको छ।

नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा आयोजित सम्मेलनकै अवसरमा उनले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग भेटघाट गरेका थिए। सो अवसरमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतीकरण गरिएको थियो।

मन्त्री खनालले मंगलबारै बेइजिङमा चीनको चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा नेपाल र चीनबीचको सौहार्द्रपूर्ण तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ।

त्यस्तै, मन्त्री खनालले बेइजिङस्थित मियाओयिङ मन्दिरमा रहेको श्वेत स्तूपको अवलोकन गरेका थिए। नेपालको राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको उक्त सम्पदा नेपाल–चीन मित्रताको प्रतीक हुनाका साथै नेपालको ऐतिहासिक सौम्य शक्ति, नेपाली कलाकारहरूको अन्तर्राष्ट्रिय प्रतिष्ठा तथा नेपाली वास्तुकलाको समृद्धिको प्रमाण हो।

मन्त्री खनालले चिनियाँ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नेपालमा नवगठित सरकारका प्राथमिकताहरू तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे आफ्ना धारणा साझा गरेका थिए।

उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बेइजिङ पुगेका थिए। मन्त्री खनाल भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किने कार्यक्रम छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट