चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम ४ अर्ब २९ करोड
काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्सेमा यस दिन भने सामान्य सुधार देखिएको हो।
यस दिन नेप्से परिसूचक २.५७ अंक बढेर २७३६.१७ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५६ स्टकको ४९ हजार २४८ पटकको कारोबारमा ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँबराबरको ९२ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावटदर ०।५० प्रतिशभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ४१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ भने सिटि होटलको करिब साढे १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ११ प्रतिशत बढेको छ भने बुंगल हाइड्रोको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया