Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

संसदीय दलको नेता छान्न सकस, विश्व र गगनकै मिलेन मन


काठमाडौं । संदीय दलको नेता छनोटमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको नै मत बाझिएपछि, यति बेला कांग्रेस भित्र के खिचडी पाक्दै छ भन्ने प्रश्न उठेको छ । गगन र विश्वबीच आन्तरिक विवाद पार्टी भित्र भुसको आगो जस्तै सल्किरहेको छ । संसदले सपथ लिएको एक महिना पुरा भइसक्दा समेत कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन् ।

गगन–विश्वको रोजाइभन्दा फरक व्यक्ति अघि सार्दा पनि एकले अर्काको अस्तित्व नस्विकार्दा सहमति जुट्न नसकेको कांग्रेस नेताहरूको भनाइ छ । सहमति जुटाउन कार्यदल गठन गरिए पनि कहिलेसम्म सहमति जुट्छ भन्ने यकिन हुन सकेको छैन् ।

सुरुमा समानुपातिकतर्फबाट निर्वाचित अर्जुननरसिंह केसीलाई दलको नेता बनाउने गृहकार्य भएको थियो । तर, नाताले सभापति थापाका ससुरा केसीलाई नेता बनाउँदा नातावाद, कृपावादको आरोप लाग्ने भएपछि सभापति थापा दोस्रो विकल्पमा गएका थिए । थापाले रसुवाबाट प्रत्यक्ष निर्वाचित मोहन आचार्यलाई दलको नेतामा अघि सारेका थिए । तर, उपसभापति विश्वप्रकाश शर्माले समानुपातिक सांसद भीष्मराज आङ्दाम्बेलाई अघि सारेसँगै निर्वाचन प्रक्रिया नै रोकिन पुगेको हो ।

गत शुक्रबार मतदाता नामावलीसमेत प्रकाशित भइसकेको अवस्थामा अन्तिम समयमा आएर निर्वाचन प्रक्रिया रोकियो भने सहमति निकाल्ने भन्दै कार्यदल गठन गरियो । शुक्रबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसदीय दलको नेता तथा कार्यसमिति चयन गर्ने प्रक्रियामा पार्टीको तर्फबाट समन्वय गर्न भन्दै उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे रहेको कार्यदल गठन गरेको हो ।

केसीको विकल्प खोज्दा सभापति थापाले प्रत्यक्षतर्फ निर्वाचित सबैभन्दा सिनियर नेतालाई बनाउनुपर्ने भन्दै आचार्यलाई अघि सारेका हुन् । आचार्य रसुवाबाट लगातार ३ पटक निर्वाचित भइसकेका छन् । तर, शर्माले विगतमा देउवा समूहमा रहेका र पार्टीको सहमहामन्त्रीसमेत भइसकेको व्यक्ति भएकाले पार्टीभित्रको सिनियारिटी र सन्तुलन मिलाउन भन्दै आङ्दाम्बेलाई नेता बनाउनुपर्ने अडान कसेका छन् ।

गत २०७९ को चुनावयता कांग्रेसका तत्कालीन महामन्त्री गगन थापाको हरेक निर्णय र राजनीतिक लाइनलाई साथ दिँदै आएका विश्वप्रकाश शर्माले यस पटक भने आङ्दाम्बेका लागि सभापतिसँगै साथ मागेका छन् । शर्माले गत प्रतिनिधिसभाको संसदीय दल नेतामा तत्कालीन सभापति शेरबहादुर देउवाविरुद्ध गगनलाई उम्मेदवार बनाउँदै उनको पक्षमा खुलेर लागेका थिए ।

विशेष महाधिवेशनबाट थापालाई सभापति बनाउन आफूले कुनै पनि पद नलिने घोषणा नै गरेका थिए । तर, थापालगायत नेताहरूकै जोडबलमा उपसभापति बनेका थिए । गत २१ फागुनको चुनावमा पनि पार्टीभित्र अरूलाई अवसर दिने भन्दै उनी उम्मेदवार बनेनन् । यसरी आफूलाई साथ दिँदै आएका शर्माले दलको नेता भने आफूअनुकूलको व्यक्ति बनाउन खोजेपछि सभापति थापा नैतिक संकटमा परेका हुन् । यद्यपि उनी प्रत्यक्ष र समानुपातिकको कार्ड खेलेर आचार्यलाई नै नेता बनाउने मौका हेरिरहेका छन् । दल नेताको विषयमा गगन र विश्वबीच नै विवाद हुँदा पार्टी गम्भीर संकटमा पर्ने देखिन्छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट