मदन भण्डारीको जन्मजयन्तीमा वाम एकताको सन्देश, चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा
काठमाडौं। जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा देशका प्रमुख वामपन्थी नेताहरूले कार्यगत एकता र सहकार्यलाई समयको आवश्यकता भएको बताएका छन्।
मदन भण्डारी फाउन्डेसन ले राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण कार्यक्रममा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा उभिएका थिए। कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल ले कम्युनिस्ट आन्दोलनको भविष्य, चुनौती र एकताका सम्भावनाबारे धारणा राखे।
एमाले अध्यक्ष ओलीले पार्टीले केही राजनीतिक धक्का बेहोरे पनि समाप्त नभएको बताउँदै पुनः सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे। उनले जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिएको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान नै समाजवादको व्यावहारिक रूप भएको दाबी गरे।
नेकपाका संयोजक प्रचण्डले विचार मिल्ने वाम शक्तिहरूबीच तत्काल कार्यगत सहकार्य सुरु गर्नुपर्नेमा जोड दिए। पार्टी एकता समय लाग्न सक्ने भए पनि साझा मुद्दामा आजैबाट सहकार्य गर्नुपर्ने उनको भनाइ थियो। उनले जबजले कम्युनिस्ट आन्दोलनलाई कठिन परिस्थितिमा जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको स्वीकार गरे।
सह–संयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन कमजोर हुनुका कारणमाथि इमानदार आत्मसमीक्षा आवश्यक रहेको बताए। व्यक्तिवाद, भ्रष्टाचार र जनतासँगको दूरीले आन्दोलनमा नकारात्मक प्रभाव पारेको उनको धारणा थियो। उनले केवल नाराले नभई विश्वास र व्यवहारिक सहकार्यले मात्र एकता सम्भव हुने बताए।
सम्मानित नेता झलनाथ खनालले वाम शक्तिहरूबीचको विभाजनले मुलुकमा राजनीतिक संकट गहिरिएको दाबी गरे। निर्वाचनअघि नै कार्यगत एकता भएको भए वर्तमान अवस्था फरक हुन सक्ने उल्लेख गर्दै उनले नयाँ सोच र नीतिसहित वाम शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी को प्रमुख आतिथ्यता रहेको थियो। सो अवसरमा लेखक तथा अध्येता रमेश रुछेन राई लाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको थियो। उनले जननेता मदन भण्डारीको जीवन र योगदानमाथि आधारित कृति श्वेतशार्दूल का लागि नगद दुई लाख रुपैयाँसहित सम्मान प्राप्त गरेका हुन्।
लामो समयपछि प्रमुख वाम नेताहरू एउटै मञ्चमा देखिएर एकताको सन्देश दिनुले आगामी राजनीतिक समीकरणबारे नयाँ बहस सुरु गरेको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया