Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

उच्चस्तरीय राजनीतिक भेटका लागि दिल्ली जाँदै रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने तयारीमा रहेका छन्। भारतीय सरकारको औपचारिक निमन्त्रणामा हुन लागेको उनको दुई दिने नयाँ दिल्ली भ्रमणलाई नेपाल–भारत सम्बन्धको वर्तमान सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।
रास्वपा स्रोतका अनुसार लामिछाने जेठ १८ गते आसपास भारत प्रस्थान गर्ने सम्भावना छ। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस। जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम मिलाइएको बताइएको छ।
नेपालमा बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएपछि दुई देशबीच उच्चस्तरीय राजनीतिक भेटघाट कम भइरहेका बेला लामिछानेको भ्रमणलाई सम्बन्ध सुधार र संवाद विस्तारको प्रयासका रूपमा व्याख्या गरिएको छ।
पछिल्लो समय नेपाल–भारत सम्बन्धमा केही दूरी देखिएको विश्लेषण भइरहेका बेला भारतीय विदेश मन्त्रालयले लामिछानेलाई औपचारिक निमन्त्रणा पठाएको हो।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल ‘बिग क्याट अलाइन्स’ सम्मेलनमा सहभागी हुन भारत जाने तयारीमा रहे पनि सम्मेलन स्थगित भएपछि उनको भ्रमण रोकिएको थियो। त्यस्तै, भारतीय विदेश सचिवको नेपाल भ्रमण पनि अन्तिम समयमा स्थगित भएको थियो।
कूटनीतिक वृत्तमा भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु गराउन चाहेको चर्चा छ। यद्यपि, प्रधानमन्त्री शाहले राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मात्र भ्रमण तय गर्ने संकेत दिएका कारण भारत भ्रमण अझै अनिश्चित बनेको छ।
यहीबीच, भारतले सत्ता गठबन्धनका प्रभावशाली नेतामार्फत नयाँ सरकारसँग राजनीतिक संवादलाई सक्रिय बनाउन खोजेको अनुमान गरिएको छ।
दुई देशबीच उच्चस्तरीय संवाद कम भइरहेका बेला हुन लागेको लामिछानेको दिल्ली भ्रमणले आगामी दिनमा नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिन सक्छ भन्ने अपेक्षा गरिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट