निर्वाचन परिणामबारे माधव नेपालको प्रश्न, ‘सुनामीको रहस्य एक दिन खुल्छ’
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामबारे आशंका व्यक्त गर्दै त्यसको वास्तविकता भविष्यमा उजागर हुने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विपक्षी दलहरू आक्रामक रूपमा प्रस्तुत भइरहे पनि आफ्ना नेता तथा कार्यकर्ताले आत्मविश्वास गुमाउन नहुने बताए। उनले विरोधी शक्तिका कारण रक्षात्मक बन्नुपर्ने अवस्था नरहेको उल्लेख गरे।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले हासिल गरेको दुईतिहाइ नजिकको सिट संख्यालाई संकेत गर्दै नेता नेपालले त्यसलाई ‘सुनामी’को संज्ञा दिए। उक्त परिणाम अस्थायी प्रकृतिको रहेको दाबी गर्दै उनले त्यसका कारणहरूबारे खोजबिन भइरहेको र समयसँगै सबै तथ्य सार्वजनिक हुने विश्वास व्यक्त गरे।
उनले निर्वाचनका क्रममा सुरक्षा निकाय, सरकार र निर्वाचन व्यवस्थापनसँग सम्बन्धित विभिन्न पक्षबारे प्रश्न उठिरहेको उल्लेख गर्दै मतपत्र व्यवस्थापनलगायत विषयमा उठेका जिज्ञासाहरूको जवाफ भविष्यमा प्राप्त हुने बताए।
पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक परिवर्तन, लोकतान्त्रिक अधिकार र समावेशी व्यवस्थाको स्थापनामा कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण भूमिका रहेको पनि स्मरण गराए। महिला, दलित तथा पछाडि पारिएका समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो राजनीतिक धारले निरन्तर पहल गरेको उनको भनाइ थियो।
संविधान निर्माण प्रक्रियादेखि राज्यका विभिन्न संवैधानिक निकायमा महिलाको सहभागिता सुनिश्चित गर्ने व्यवस्था संस्थागत गर्न योगदान दिएको दाबी गर्दै उनले वर्तमान पुस्ताले विगतका राजनीतिक उपलब्धिको मूल्यांकन गर्नुपर्ने बताए।
उनले पार्टी पंक्तिलाई रक्षात्मक नभई आत्मविश्वासका साथ संगठन निर्माण र राजनीतिक अभियानमा जुट्न आह्वान समेत गरे।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया