Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित हुनुपर्छ स् सांसद ज्ञानेन्द्र शाही


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलगायत सरकार प्रमुखका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता भए पनि सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार हुनुपर्नेमा जोड दिए। उनले संसद्मा प्रधानमन्त्रीले व्यक्त गरेका भनाइहरूमाथि प्रश्न उठाउँदै तथ्य र प्रमाणबिनाका अभिव्यक्तिहरू संसद्को अभिलेखबाट हटाउन माग गरे।

उनले चिया पसलमा हुने गफ र संसद्मा गरिने अभिव्यक्तिबीच ठूलो अन्तर हुने उल्लेख गर्दै राज्य सञ्चालनसँग सम्बन्धित विषयमा तथ्यांक र प्रमाणको आधारमा मात्रै धारणा राखिनुपर्ने बताए।

नेपाल–भारत सीमा सम्बन्धी विषय उठाउँदै सांसद शाहीले सरकारले भारतले नेपाली भूमि अतिक्रमण गरेको दाबी गरेको हो भने त्यससम्बन्धी आधिकारिक प्रमाण संसद् समक्ष प्रस्तुत गर्न आग्रह गरे। प्रमाणबिना जनतालाई भ्रमित पार्ने खालका अभिव्यक्ति दिन नहुने उनको भनाइ थियो।

“भावनाले ताली पाउन सक्छ, तर तथ्यले मात्र विश्वास जित्न सक्छ,” भन्दै उनले सरकारसँग स्पष्ट प्रमाण भए संसद्मा प्रस्तुत गर्न र प्रमाण नभए यस्ता अभिव्यक्तिबाट बच्न सरकारलाई आग्रह गरे।

उल्लेखनीय छ, आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन शाहले भारतले मात्र नभई नेपालले पनि भारतको केही भूमि प्रयोग गरेको आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइप्रति विभिन्न राजनीतिक वृत्तबाट प्रतिक्रिया आउन थालेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट