प्रधानमन्त्रीको अभिव्यक्तिमाथि कांग्रेस सांसद राईको आपत्ति, संसद्मै स्पष्टिकरण दिन माग
प्रधानमन्त्रीको अभिव्यक्तिमाथि कांग्रेस सांसद राईको आपत्ति, संसद्मै स्पष्टिकरण दिन माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा प्रश्न उठाएको भन्दै त्यसबारे स्पष्ट जवाफ दिन माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले नेपालले भारतको केही भूभाग मिचेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति गम्भीर असहमति जनाए। उनले उक्त अभिव्यक्तिले सम्पूर्ण नेपाली नागरिकको आत्मसम्मानमा चोट पुगेको दाबी गरे।
राईले संसद्को अभिलेखमा दर्ज भइसकेको प्रधानमन्त्रीको भनाइ भविष्यका लागि नजिर बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरे। उनले प्रधानमन्त्रीले नेपालले भारतको कुन भूभाग अतिक्रमण गरेको हो भन्ने विषयमा संसद्मै तथ्यसहित जवाफ दिनुपर्ने बताए।
उनले राष्ट्रिय सीमा र सार्वभौमिकतासँग जोडिएको विषयमा गैरजिम्मेवार अभिव्यक्ति स्वीकार्य नहुने उल्लेख गर्दै सरकारसँग स्पष्ट धारणा सार्वजनिक गर्न माग गरे। साथै, प्रधानमन्त्रीको भनाइको बचाउ गर्दै परराष्ट्र मन्त्रालयले दिएको व्याख्याप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे।
आइतबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपालले पनि भारततर्फ केही भूमि भोगचलन गरिरहेको आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइपछि संसद् र सार्वजनिक वृत्तमा व्यापक बहस तथा आलोचना भइरहेको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया