Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

कुरासाओको ऐतिहासिक प्रदर्शन, इक्वेडर गोलरहित बराबरीमा रोकियो


काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ई अन्तर्गत कान्सास सिटी स्टेडियममा आज भएको खेलमा फिफा विश्वकपकै इतिहासमा सबैभन्दा सानो देश कुरासाओले बलियो इक्वेडरलाई ०–० को गोलरहित बराबरीमा रोक्दै इतिहास रचेको छ।

यो बराबरीसँगै कुरासाओले आफ्नो विश्वकप इतिहासकै पहिलो ऐतिहासिक अंक प्राप्त गरेको छ। कुरासाओलाई यो ऐतिहासिक बराबरी दिलाउन त्यसका ३७ वर्षीय अनुभवी गोलकिपर इलोय रुम पर्खाल जस्तै उभिए। इक्वेडरले खेलभरि निरन्तर आक्रमण बुने पनि रुमले विश्वकप इतिहासकै दोस्रो धेरै र ९० मिनेटको खेलमा कीर्तिमानी १५ वटा बचाउ गर्दै टोलीको संकट टारे।

खेलको सुरुवाती मिनेटमै इक्वेडरका अनुभवी स्ट्राइकर एनेर भ्यालेन्सियाले गोलकिपरसँग वान–अन–वानको उत्कृष्ट मौका पाएका थिए, तर रुमले सानदार बचाउ गरे। दोस्रो हाफमा इक्वेडरका मोइसेस काइसेडो र भ्यालेन्सियाका हेड प्रहारहरूलाई पनि रुमले विफल पारिदिए।

पहिलो खेलमा जर्मनीसँग ७–१ को ठूलो हार बेहोरेको कुरासाओका लागि यो बराबरी ठूलो उत्सव सरह बनेको छ। यस नतिजाले जर्मनीलाई समूह ई को विजेता बन्ने बाटो पक्का गरिदिएको छ। पहिलो खेलमा आइभोरी कोस्टसँग पराजित भएको इक्वेडरको नकआउट चरणमा पुग्ने सम्भावना अब निकै कठिन मोडमा पुगेको छ। अब उसले समूहको अन्तिम खेलमा बलियो जर्मनीलाई पराजित गर्नैपर्ने दबाब छ, भने कुरासाओले आफ्नो अन्तिम खेल आइभोरी कोस्टसँग खेल्नेछ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट