Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

१५ वर्षीय नेपाली किशोर बेलायतको काउन्टी क्रिकेटमा चम्किँदै


लन्डन, असार ८  बेलायतमा जन्मिएका १५ वर्षीय नेपाली मूलका क्रिकेटर दिपेश सापकोटा काउन्टी क्रिकेट प्रणालीमा उदाउँदा प्रतिभाका रूपमा स्थापित हुँदै गएका छन्। कम उमेरमै उत्कृष्ट प्रदर्शन गर्दै आएका दिपेश हाल नटिङ्घमसायर काउन्टी क्रिकेटको इमर्जिङ प्लेयर प्रोग्राम (इपीपी) अन्तर्गत प्रशिक्षण लिइरहेका छन्।

डार्बीसायरस्थित ट्रेन्ट कलेजमा कक्षा १० मा अध्ययनरत दिपेशले ६ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेका थिए। आठ वर्षको उमेरमै उनी नटिङ्घमसायर काउन्टी क्रिकेटको अन्डर–१० टोलीमा छनोट भएका थिए। सन् २०१९ मा अन्डर–१० टोलीबाट खेल्न सुरु गरेका उनले त्यसयता विभिन्न उमेर समूह र प्रतियोगितामा झण्डै ५ हजार ५० रन बनाइसकेका छन्।

दिपेशले १४ वर्षको उमेरमा १०० बलमा १६३ रनको विस्फोटक इनिङ खेल्दै विशेष चर्चा कमाएका थिए। उक्त प्रदर्शन लेष्टरसायर एन्ड रुटल्यान्ड क्रिकेट फाउन्डेसन र नटिङ्घमसायरबीचको खेलमा आएको थियो।यसै वर्ष मे महिनामा नटिङ्घम प्रिमियर डिभिजन अन्तर्गत क्याभिलियर्स एन्ड क्यारिङ्टन क्रिकेट क्लबका लागि खेल्दै उनले अविजित १४३ रनको उत्कृष्ट इनिङ खेलेर टोलीलाई जित दिलाएका थिए। कम उमेरमै उच्चस्तरीय प्रतियोगितामा यस्तो प्रदर्शन गर्ने खेलाडीमध्ये उनी बेलायतकै आशालाग्दा युवा क्रिकेटरका रूपमा हेरिएका छन्।

दिपेशको क्रिकेट यात्रा पारिवारिक पृष्ठभूमिसँग पनि जोडिएको छ। उनका बुबा दीपक सापकोटा नटिङ्घम नेपाली समाजका पूर्वअध्यक्ष तथा मिडल्यान्ड नेपाली क्रिकेट लिगका संस्थापक संयोजक हुन्। गुल्मीको मुसीकोट नगरपालिका–वामी टक्सार स्थायी घर भएका दीपक सापकोटा सन् २००५ मा बेलायत पुगेका थिए। उनी नटिङ्घम गोर्खा क्रिकेट क्लबका पूर्वकप्तानसमेत हुन्।

दिपेशले क्रिकेटप्रतिको आफ्नो आकर्षणमा बुबाको प्रेरणा र पारिवारिक वातावरणको ठूलो भूमिका रहेको बताएका छन्। उनी हाल आमा सीता सापकोटा र दिदी दीपिकासँग नटिङ्घममा बस्दै आएका छन्।क्रिकेटसँगै अध्ययनलाई पनि समान प्राथमिकता दिइरहेका दिपेश सातामा दुई दिन नटिङ्घमको प्रसिद्ध ट्रेन्ट ब्रिज अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रशिक्षण लिन्छन्। त्यसबाहेक विद्यालयस्तरको प्रशिक्षण र शारीरिक तन्दुरुस्तीका लागि नियमित अभ्यासमा समेत सक्रिय छन्।

दिपेशको लक्ष्य नटिङ्घमसायर काउन्टी क्रिकेट क्लबको पहिलो टोलीबाट खेल्नुका साथै इंग्ल्यान्डको अन्डर–१९ टोलीमा स्थान बनाउनु रहेको छ। दीर्घकालीन रूपमा उनले नेपाल प्रिमियर लिग (एनपीएल) हुँदै विश्वकै चर्चित फ्रेन्चाइज प्रतियोगिता आईपीएलमा खेल्ने सपना बोकेका छन्।

नेपालसँग भावनात्मक सम्बन्ध कायम राखेका दिपेश नेपाली भाषा पनि राम्रोसँग बोल्छन्। हालै उनी बेलायतको प्रतिष्ठित बनबरी फेस्टिभलका लागि छनोट भएका छन्, जसलाई उनको क्रिकेट करिअरको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट