Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

जोरा स्पोर्ट्सले क्यानविरुद्धका सबै मुद्दा फिर्ता लिने अमिर अख्तरको घोषणा


काठमाडौं । जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दाहरू फिर्ता लिने घोषणा गरेको छ।

म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिका विषयमा रहेका कानुनी विवाद अन्त्य गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

जोरा स्पोर्ट्सले क्यानलाई विपक्षी बनाई सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुदको बृहत्तर विकासका लागि मुद्दा फिर्ता लिन गरेको अनुरोध र पछिल्लो विकसित परिस्थितिलाई आत्मसात् गर्दै कम्पनीले यो कदम चालेको विज्ञप्तिमार्फत जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘खेल विकासमा सबै पक्ष एकजुट हुनुपर्ने सन्दर्भमा, यदि सम्बन्धित विपक्षीहरू समेत सहमत हुने हो भने आपसी समझदारी, सहकार्य र समन्वयका आधारमा मुद्दा फिर्ता लिन हामीलाई कुनै आपत्ति छैन।’

प्रबन्ध निर्देशक अख्तरले आफू स्वयं पूर्व राष्ट्रिय खेलाडी भएकाले व्यक्तिगत द्वेषभन्दा पनि खेल क्षेत्रको सुधारका लागि अदालतको शरण लिनुपरेको स्पष्ट पारेका छन्।

राखेपले गत २०८२ फागुन १२ गते पठाएको पत्रको स्वागत गर्दै जोरा स्पोर्ट्सले खेलकुदको अभिभावक निकायको भावनालाई सम्मान गरेको जनाएको छ।

अख्तरले आफू निवेदकरवादी भई क्यानविरुद्ध दायर गरेका सबै मुद्दाहरू सम्बन्धित अदालतमा निवेदन दिई तत्कालै फिर्ता लिने प्रक्रिया अगाडि बढाउने बताएका छन्।

यद्यपि, आफ्नो नाममा दर्ता रहेको ‘नेपाल प्रिमियर लिग प्राइभेट लिमिटेड’ र सो कम्पनीको बैंक खातामा भने आफ्नै स्वामित्व रहने उनको भनाइ छ ।

आगामी दिनमा क्यान र राखेपसँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेकोसमेत अख्तरले उल्लेख गरेका छन्।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट