Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

के विश्वकप गुमाउने खतरा बढ्यो ? खेलकै बीच मैदान छाडेपछि


सन् २०२६ को फिफा विश्वकप सुरु हुन केही सातामात्र बाँकी रहँदा अर्जेन्टिनाका कप्तान लिओनल मेसीको स्वास्थ्य अवस्थाले फुटबल समर्थकमाझ चिन्ता थपेको छ। अमेरिकन क्लब इन्टर मायमीका लागि खेलिरहेका मेसी खेलकै बीच मैदान छाडेर ड्रेसिङ रुमतर्फ लागेपछि उनको फिटनेसलाई लिएर अनेक अड्कलबाजी सुरु भएको हो।
आइतबार राति फिलाडेल्फिया युनियनविरुद्ध भएको रोमाञ्चक खेलको ७३औँ मिनेटमा मेसीले आफैँ प्रशिक्षकलाई परिवर्तनको संकेत गरेका थिए। फ्रि–किक प्रहार गरेलगत्तै उनले देब्रे तिघ्राको माथिल्लो भाग समातेका देखिएका थिए। त्यसपछि उनी बिना सहारा सिधै मैदान बाहिरिएर टनेलतर्फ गएका थिए।

मेसी मैदानबाट बाहिरिएपछि सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म उनको चोटबारे चर्चा सुरु भयो। विशेषगरी विश्वकप नजिकिँदै गर्दा ३८ वर्षीय मेसीको सामान्य मांसपेशी समस्याले पनि अर्जेन्टिनी टोलीलाई ठूलो असर पार्न सक्ने आँकलन गरिएको छ।
तर इन्टर मायमीका मुख्य प्रशिक्षक गुइलेर्मो होयोसले भने प्रारम्भिक अवस्थामा गम्भीर चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन्। उनले मेसी चोटभन्दा बढी थकित देखिएको प्रतिक्रिया दिएका छन्।

प्रशिक्षक होयोसले भने,
“हालसम्म मेडिकल रिपोर्ट आएको छैन। तर उनी निकै थकित देखिन्थे। मैदानको अवस्था पनि सहज थिएन, त्यसैले जोखिम नलिई आराम दिने निर्णय गरिएको हो।”

मेसीको अवस्थाले चर्चा पाए पनि खेल भने निकै रोमाञ्चक बनेको थियो। पहिलो हाफमै दुवै टोलीबाट आठ गोल हुँदा खेल ४–४ को बराबरीमा पुगेको थियो। सुरुआतमा फिलाडेल्फियाले २–० को अग्रता बनाए पनि मेसीको उत्कृष्ट पासमा जर्मन बर्टेरामेले गोल गर्दै मायमीलाई खेलमा फर्काएका थिए।
दोस्रो हाफमा लुइस सुवारेजले ह्याट्रिक पूरा गर्दा रोड्रिगो डे पलले थप एक गोल गरे। अन्ततः इन्टर मायमीले ६–४ को शानदार जित निकाल्यो।
अब विश्वकप तयारीका लागि अमेरिकन लिग केही समय रोकिनेछ। अर्जेन्टिनाले जुन १६ मा अल्जेरियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्ने तालिका छ। यद्यपि, अर्जेन्टिनाले अझै अन्तिम टोली घोषणा गरिसकेको छैन।

यसबीच अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी र मेडिकल टोली मेसीको स्वास्थ्य रिपोर्टको प्रतीक्षामा छन्। विश्वकपअघि उनी पूर्ण रूपमा फिट हुने अपेक्षा गरिए पनि अन्तिम निर्णय मेडिकल परीक्षणपछि मात्रै स्पष्ट हुने बताइएको छ।
हाल इन्टर मायमी आफ्नो समूहको दोस्रो स्थानमा रहेको छ भने समर्थकहरूको ध्यान अब मेसीको स्वास्थ्य अपडेटतर्फ केन्द्रित भएको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट