भुर्तेलको विस्फोटक शतकपछि टी–२०आई ब्याटिङ वरियतामा सुधार, ६४औं स्थानमा उक्लिए
काठमाडौं । चीनविरुद्ध विस्फोटक शतक प्रहार गरेका नेपाली क्रिकेटर कुशल भुर्तेलले आईसीसी टी–२०आई ब्याटिङ वरियतामा सुधार गरेका छन्। बुधबार सार्वजनिक नयाँ वरियताअनुसार भुर्तेल दुई स्थान माथि उक्लिँदै ६४औं स्थानमा पुगेका हुन्। उनको रेटिङ अंक ४९६ रहेको छ।
सिंगापुरमा जारी एसियन गेम्स छनोटअन्तर्गत पहिलो खेलमा नेपालले चीनलाई पराजित गरेको थियो। सो खेलमा भुर्तेलले ४३ बलमा १२९ रनको आक्रामक इनिङ खेलेका थिए। उनले उक्त पारीमा ५ चौका र १६ छक्का प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।
यद्यपि सो शानदार शतकका बाबजुद उनी वरियतामा सीमित दुई स्थान मात्र सुधार गर्न सफल भएका छन्।
यसैबीच, नेपाली ब्याटरमध्ये रोहित पौडेल ८८औं स्थानमा यथावत् छन् भने आसिफ शेख ९६औं स्थानमा छन्। त्यस्तै, अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी एक स्थान तल झर्दै पाँचौं स्थानमा पुगेका छन्।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया