टी-२०आईमा दीपेन्द्रको कीर्तिमानी १००औं खेल पूरा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास रचेका छन्। सोमबार एसियन गेम्स पुरुष क्रिकेट छनोट अन्तर्गत हङकङविरुद्ध मैदानमा उत्रिएसँगै उनले आफ्नो १००औँ टी–२०आई खेल पूरा गरेका हुन्।
यससँगै दीपेन्द्र टी–२०आईमा १०० खेल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका छन्। उनीपछि सोमपाल कामीले ९१ तथा करण केसीले ९० टी–२०आई खेल खेलेका छन्।
दीपेन्द्रले सन् २०१८ मा इंग्ल्यान्डको लर्ड्स मैदानमा नेदरल्यान्ड्सविरुद्ध टी–२०आई डेब्यू गरेका थिए। हालसम्म उनले १०० खेलमा एक शतक र १२ अर्धशतकसहित २ हजार २ सय १३ रन बनाएका छन् भने ६२ विकेट पनि आफ्नो नाममा दर्ज गरेका छन्।
विश्व क्रिकेटमा समेत दीपेन्द्रले उल्लेखनीय कीर्तिमान कायम गरेका छन्। सन् २०२३ मा चीनको हाङ्जाउमा सम्पन्न एसियन गेम्समा मंगोलियाविरुद्ध उनले केवल ९ बलमा अर्धशतक पूरा गर्दै विश्वकै सबैभन्दा छिटो टी–२०आई अर्धशतकको कीर्तिमान बनाएका थिए। उक्त इनिङ्समा उनले ८ छक्का प्रहार गरेका थिए।
त्यसैगरी, सन् २०२४ को एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै उनी यस्तो उपलब्धि हासिल गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए।
अलराउन्ड प्रदर्शनका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२०आई अलराउन्डर वरीयतामा दीपेन्द्र हाल पाँचौँ स्थानमा छन्। यसअघि उनी दोस्रो स्थानसम्म पुग्न सफल भएका थिए।
लामो समय नेपाली टोलीको उपकप्तानको जिम्मेवारी सम्हालेका दीपेन्द्र हाल टी–२०आई टोलीको कप्तानको भूमिकामा छन्। उनले उमेर समूहदेखि घरेलु क्रिकेटसम्म नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। उनकै कप्तानीमा नेपालले यू–१९ एसिया कपमा भारतलाई पराजित गरेको थियो।
घरेलु क्रिकेटमा पनि उनले विभिन्न टोलीलाई उपाधि दिलाएका छन्। धनगढी प्रिमियर लिगमा सीआईबी अत्तरिया, नेपाल टी–२० मा लुम्बिनी अल स्टार्स तथा नेपाल पुलिस क्लबलाई राष्ट्रिय प्रतियोगिताहरूमा सफल नेतृत्व दिएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) का दुवै संस्करणमा सुदूरपश्चिम रोयल्सको कप्तानी गरेका दीपेन्द्र टोलीलाई फाइनलसम्म पुर्याउन सफल भए पनि उपाधि जिताउन भने सकेनन्।
राष्ट्रिय तथा घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका दीपेन्द्रले क्यानडाको ग्लोबल टी–२०, यूएईको आईएल टी–२० लगायत विदेशी फ्रेन्चाइज प्रतियोगितामा पनि सहभागिता जनाइसकेका छन्। हाल उनी राष्ट्रिय टोलीको जिम्मेवारीका कारण एसियन गेम्स छनोटमा केन्द्रित छन्।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया