विश्वकपमा जाने तयारी गरेका एन्फा अध्यक्ष र महासचिवलाई राखेपको रोक
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल हटाउन अस्वीकार गरेको छ।
फिफा विश्वकप २०२६ अवलोकनका लागि मेक्सिको जाने तयारीमा रहेका नेम्बाङ र राई प्रतिबन्ध फुकुवाको पहल गर्न राखेप पुगेका थिए। तर, राखेपले हालको अवस्थामा विदेश जान अनुमति दिन नसकिने स्पष्ट गरेको छ। सदस्य सचिव रामचरित्र मेहताका अनुसार यस विषयमा तत्काल कुनै निर्णय परिवर्तन हुने अवस्था छैन।
स्रोतका अनुसार एन्फा पदाधिकारीहरू यसअघि अध्यागमन विभागसमेत पुगेका थिए। तर, अध्यागमनले राखेपको सिफारिस आवश्यक रहेको जानकारी दिएपछि उनीहरू पुनः राखेपको सम्पर्कमा पुगेका हुन्।
फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु हुँदैछ। सो प्रतियोगितामा सहभागी हुन अध्यक्ष नेम्बाङ र महासचिव राई आजै राति मेक्सिको प्रस्थान गर्ने तयारीमा थिए। तर, राखेपले विदेश यात्रा प्रतिबन्ध फुकुवा गर्न नमानेपछि उनीहरूको योजना प्रभावित भएको छ।
यसअघि आर्थिक अनियमिततासम्बन्धी विषयमा छानबिन भइरहेको भन्दै राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीमाथि विदेश यात्रा प्रतिबन्ध लगाएको थियो।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया