Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

फिफा विश्वकप : सोमालियाली रेफ्री आर्टनलाई अमेरिका प्रवेशमा रोक


फिफा विश्वकप फुटबल २०२६ मा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाका ओमार अब्दुल्कादिर अर्टानलाई अमेरिकाले प्रवेश अनुमति दिन अस्वीकार गरेको छ ।

अमेरिकाले प्रवेश अनुमति नदिएपछि विश्वकप फुटबलमा पहिलो सोमालियाली रेफ्री बन्ने तयारीमा रहेका अर्टान प्रतियोगिताबाट बाहिरिएका छन् । उनलाई अमेरिकी अध्यागमन अधिकारीहरूले मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएका हुन् ।

अर्टान सन् २०१८ देखि फिफा रेफ्री रहेका छन् । उनी सन् २०२५ मा अफ्रिकाका उत्कृष्ट रेफ्री घोषित भएका थिए ।

अमेरिका प्रवेश अनुमति नपाएपछि अर्टानको नाम फिफा विश्वकप रेफ्रीको सूचीबाट हटाइएको छ । अहिले उनी टर्कीमा छन् ।

आर्टनलाई अमेरिकाले किन प्रवेश नदिएको भन्नेबारे विवरण सार्वजनिक भएको छैन । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको ‘यात्रा प्रतिबन्ध’ मा पर्ने देशहरूमा सोमालिया पनि छ ।

२३औँ संस्करणको फिफा विश्वकप पर्सि बिहीवार रातिदेखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा शुरू हुँदैछ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट