दोहामा अमेरिका–इरानबीच अप्रत्यक्ष प्राविधिक वार्ता सुरु
काठमाडौं । लामो समयदेखि जारी कूटनीतिक तनावका बीच संयुक्त राज्य अमेरिका र इरानका अधिकारीहरूबीच कतारको राजधानी दोहामा अप्रत्यक्ष प्राविधिक वार्ता सुरु भएको छ। कूटनीतिक स्रोतहरूका अनुसार वार्ता कतार र पाकिस्तानको मध्यस्थतामा भइरहेको छ।
वार्ताअघि मंगलबार अमेरिकी विशेष दूत स्टिभ विट्कोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरले कतारका प्रधानमन्त्रीसँग भेटवार्ता गरी संवादको रूपरेखा तय गरेका थिए। यद्यपि, उनीहरू बुधबारको प्राविधिक तहको मुख्य वार्तामा प्रत्यक्ष सहभागी नभएको जनाइएको छ।इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाहीका अनुसार छलफलमा अमेरिका र इरानबीच यसअघि भएको समझदारी पत्रको कार्यान्वयन तथा विभिन्न देशमा रोक्का रहेका इरानका वित्तीय सम्पत्ति फुकुवा गर्ने विषयमा केन्द्रित समीक्षा भइरहेको छ।
कतारको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा अमेरिकी प्रतिनिधिमण्डल र कतारी मध्यस्थकर्ताबीच भएको बैठकमा अमेरिका–इरान संवादको प्रगति तथा कूटनीतिक पहलमार्फत खाडी क्षेत्रको सुरक्षा र स्थायित्व सुदृढ बनाउने विषयमा छलफल भएको उल्लेख गरिएको छ।कतारले प्राविधिक तहका संवाद जारी रहे पनि हाल उच्चस्तरीय राजनीतिक भेटघाटको कुनै औपचारिक कार्यक्रम तय नभएको स्पष्ट पारेको छ।
यसैबीच, क्षेत्रीय कूटनीतिक स्रोतहरूका अनुसार ओमानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग ‘स्ट्रेट अफ हर्मुज’ को सुरक्षा र भविष्य व्यवस्थापनसम्बन्धी नयाँ प्रस्ताव अमेरिका र उसका सहयोगी राष्ट्रहरू समक्ष प्रस्तुत गरेको छ।अर्कोतर्फ, अमेरिकाको मध्यस्थतामा गत शुक्रबार इजरायल र लेबनानबीच युद्धविराम सम्झौता भए पनि त्यसको कार्यान्वयनमाथि प्रश्न उठ्न थालेको छ। इजरायली सेनाले मंगलबार दक्षिणी लेबनानको मन्जाला क्षेत्रमा हिजबुल्लाहसँग सम्बन्धित एक व्यक्तिमाथि हवाई आक्रमण गरेको पुष्टि गरेको छ, जसलाई युद्धविराम उल्लङ्घनका रूपमा हेरिएको छ।
यसबीच, इरानले सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधनपछि आगामी जुलाई ४ देखि ९ सम्म इरान र इराकका विभिन्न सहरमा औपचारिक अन्त्येष्टि कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। लामो समयसम्म अन्त्येष्टि नहुनु र सम्भावित उत्तराधिकारीका विषयमा उठेका प्रश्नहरूले इरानको आन्तरिक राजनीतिमा समेत चर्चा चुलिएको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया