डिजिटल सहकार्य र लगानी विस्तारमा नेपाल–अमेरिका सहमति
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सबीच बुधबार मन्त्रालयमा भएको भेटवार्तामा सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तारका विषयमा व्यापक छलफल भएको छ।
भेटका क्रममा अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताइन्। उनले अमेरिकी निजी क्षेत्रका कम्पनीहरू नेपालमा लगानी बढाउन उत्सुक रहेको उल्लेख गर्दै त्यसका लागि स्थिर नीति, लगानीमैत्री वातावरण र प्रभावकारी सहजीकरण आवश्यक रहेको धारणा राखिन्।
रोजर्सले डिजिटल युगका चुनौतीहरू व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औंल्याउँदै अनलाइन ठगी, बालबालिकामाथि लक्षित हानिकारक सामग्री तथा अश्लील सामग्रीको प्रसार नियन्त्रणमा साझेदारी गर्न सकिने बताइन्। साथै, डिजिटल पूर्वाधार विकास र साइबर सुरक्षाका क्षेत्रमा समेत अमेरिकाले सहयोग गर्न तत्पर रहेको उनको भनाइ थियो।
जवाफमा सञ्चारमन्त्री डा। तिमिल्सिनाले नेपाल सूचना प्रविधिलाई आर्थिक विकास र सार्वजनिक सेवा सुधारको प्रमुख माध्यमका रूपमा अघि बढाइरहेको उल्लेख गरे। उनले सूचना प्रविधि तथा डिजिटल नवप्रवर्तनका क्षेत्रमा हुने द्विपक्षीय र बहुपक्षीय सहकार्यलाई नेपालले सकारात्मक रूपमा लिने बताए।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया