नेपालमा इन्टरनेट प्रयोगकर्ता ४ करोड ५२ लाख नाघे, बजारमा वर्ल्डलिङ्क अग्रस्थानमा
काठमाडौं । नेपालमा इन्टरनेट सेवाको पहुँच तीव्र रूपमा विस्तार हुँदै कुल ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता ४ करोड ५२ लाख नाघेको छ। नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले सार्वजनिक गरेको ‘दूरसञ्चार सूचकहरू (वैशाख २०८३)’ अनुसार देशमा इन्टरनेट प्रयोगको दर कुल जनसंख्याभन्दा १५५ प्रतिशतभन्दा बढी पुगेको देखिएको छ।
वैशाख मसान्तसम्म नेपालमा कुल ब्रोडब्यान्ड प्रयोगकर्ता ४ करोड ५२ लाख १९ हजार ९६ पुगेका छन्। त्यस्तै, मोबाइल र फिक्स्ड टेलिफोन सेवा (भ्वाइस टेलिफोनी) का सक्रिय ग्राहक ३ करोड २ लाख ४८ हजार ९ सय ५८ पुगेका छन्, जुन कुल जनसंख्याको १०३.७१ प्रतिशत बराबर हो।
भ्वाइस बजारमा नेपाल टेलिकम अगाडि, एनसेल दोस्रो
भ्वाइस टेलिफोनी सेवामा नेपाल टेलिकमको बजार हिस्सा ५३.५८ प्रतिशत रहेको छ भने एनसेलको ४६.४१ प्रतिशत छ। साना सेवा प्रदायकहरूको हिस्सा भने अत्यन्त न्यून देखिएको छ।
भ्वाइस बजारमा मोबाइल सेवाको वर्चस्व ९८.६२ प्रतिशत पुगेको छ भने फिक्स्ड (तारयुक्त) टेलिफोनको हिस्सा केवल १.३७ प्रतिशतमा सीमित छ।
मोबाइल इन्टरनेटमा 4G को दबदबा
प्राधिकरणको तथ्याङ्क अनुसार नेपालको इन्टरनेट बजारमा ताररहित मोबाइल ब्रोडब्यान्ड र उच्च गतिको फाइबर इन्टरनेट (FTTH) को पकड अत्यधिक बलियो देखिएको छ। कुल ब्रोडब्यान्ड प्रयोगकर्तामध्ये मोबाइल ब्रोडब्यान्डको हिस्सा ८८.७४ प्रतिशत र फिक्स्ड (तारयुक्त) ब्रोडब्यान्डको हिस्सा ११.१५ प्रतिशत छ।
मोबाइल इन्टरनेटतर्फ ४जी (4G) सेवा उपभोक्ताको पहिलो रोजाइ बनेको छ। कुल मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्तामध्ये ४जीका ग्राहक २ करोड ६७ लाख ३३ हजार २ सय ८ पुगेका छन्। यसको विपरीत पुरानो प्रविधिको ३जी (3G) का ग्राहक घट्दै गएर केवल ७ लाख ६५ हजार ३ सय ४४ मा सीमित भएका छन्। मोबाइल ब्रोडब्यान्डमा नेपाल टेलिकमको ५५.५८ प्रतिशत र एनसेलको ४४.४२ प्रतिशत हिस्सा छ।
अर्कातर्फ, फिक्स्ड ब्रोडब्यान्ड (तारयुक्त) इन्टरनेटतर्फ फाइबर (FTTH) को विस्तार उत्साहजनक छ। नेपालमा कुल फाइबर इन्टरनेटको कनेक्सन ३४ लाख ५६ हजार १ पुगेको छ। प्राधिकरणले एउटा इन्टरनेट कनेक्सन बराबर औसतमा ४.३७ जना प्रयोगकर्ता रहने आधारमा कुल फाइबर इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या १ करोड ५१ लाख २ हजार ७ सय २४ रहेको उल्लेख गरेको छ, जसले नेपालको कुल जनसङ्ख्याको ५१.७८ प्रतिशत हिस्सा ओगटेको छ।
फिक्स्डब्रोडब्यान्ड (इन्टरनेट) बजारमा वर्ल्डलिङ्क शीर्ष स्थानमा
नियमित इन्टरनेट सेवा प्रदायकहरू (ISPs) मध्ये फिक्स्ड ब्रोडब्यान्ड (फाइबर) बजारमा वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेड ३०.९३ प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा कायमै छ। वर्ल्डलिङ्कका कुल ग्राहकको सङ्ख्या १० लाख ७८ हजार ७ सय ९ पुगेको छ।
१०.९८ प्रतिशत हिस्सा (३ लाख ८३ हजार १०१ ग्राहक) सहित नेपाल टेलिकम दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको डिश मिडिया नेटवर्क (डिश होम) को बजार हिस्सा १०.५९ प्रतिशत (३ लाख ६९ हजार २१८ ग्राहक) छ।
यस्तै, १०.४१ प्रतिशत बजार हिस्सा (३ लाख ६३ हजार ७ ग्राहक) सहित भायानेट कम्युनिकेशन्स चौथो स्थानमा र ८.२३ प्रतिशत हिस्सा (२ लाख ८६ हजार ९५३ ग्राहक) सहित क्लासिक टेक पाँचौँ स्थानमा रहेका छन्। सुबिसु केबलनेट ७.५९ प्रतिशत बजार हिस्सा (२ लाख ६४ हजार ८४९ ग्राहक) सहित छैटौँ स्थानमा छ।
प्रमुख १० इन्टरनेट सेवा प्रदायकहरूको बजार हिस्सा
१. वर्ल्डलिङ्क कम्युनिकेशन्स: १०,७८,७०९ (३०.९३%)
२. नेपाल टेलिकम: ३,८३,१०१ (१०.९८%)
३. डिश मिडिया नेटवर्क: ३,६९,२१८ (१०.५९%)
४. भायानेट कम्युनिकेशन्स: ३,६३,०३७ (१०.४१%)
५. क्लासिक टेक: २,८६,९५३ (८.२३%)
६. सुबिसु केबलनेट: २,६४,८४९ (७.५९%)
७. वेबसर्फर नेपाल: १,७३,४६२ (४.९७%)
८. टेकमाइन्ड्स नेटवर्क: १,१७,०७८ (३.३६%)
९. वाइफाई नेपाल: १,११,४६४ (३.२०%)
१०. सीजी कम्युनिकेशन्स: ९०,२०६ (२.५९%)
क्याटेगोरी : अर्थ













प्रतिक्रिया