Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपाको पहिलो महाधिवेशन नजिकिँदै, पदाधिकारी बन्न आकांक्षीहरूको भीड


काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र विभिन्न पदमा आकांक्षीहरूको सक्रियता बढ्न थालेको छ। विशेषगरी उपसभापति, महामन्त्री र सह–महामन्त्री पदका लागि नेताहरूबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

पार्टीको प्रस्तावित विधानअनुसार १६ सदस्यीय पदाधिकारी संरचना रहनेछ। सभापतिसहित १० जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ भने बाँकी ६ जना पदाधिकारी सभापतिले मनोनयन गर्नेछन्।

पार्टी स्रोतका अनुसार सभापति पदमा वर्तमान सभापति रवि लामिछानेलाई चुनौती दिने कुनै बलियो आकांक्षी हालसम्म देखिएको छैन। त्यसैले उनी निर्विरोध चयन हुने सम्भावना बलियो रहेको बताइन्छ।

तर अन्य पदहरूमा भने आकांक्षीहरूको संख्या उल्लेख्य देखिएको छ। तीन उपसभापतिमध्ये एक पद महिलाका लागि आरक्षित रहने प्रस्ताव छ। उक्त पदमा लिमा अधिकारी, वसुमाया तामाङ, प्रतिभा रावल, सोबिता गौतम, सरिताश्री ज्ञवाली, इन्दिरा राना तथा समीक्षा बास्कोटाको नाम चर्चामा रहेको बताइएको छ।

खुला उपसभापति पदका लागि अर्थमन्त्री स्वर्णिम वाग्ले प्रमुख दाबेदारका रूपमा देखिएका छन्। यसबाहेक सुनील लम्साल, विराजभक्त श्रेष्ठ तथा गणेश कार्कीको नाम पनि चर्चामा छ।

महामन्त्री पदका लागि हालका महामन्त्री कविन्द्र बुर्लाकोटी र भूपदेव शाह पुनः दाबेदार बन्न सक्ने चर्चा छ। साथै विपिन आचार्य, दीपक बोहरा, मनिष झा, प्रमोद न्यौपाने लगायतले पनि उक्त पदमा रुचि देखाएका छन्। केही नेताहरूका अनुसार सोबिता गौतमले उपसभापतिमा अवसर नपाए महामन्त्रीमा दाबी गर्न सक्ने सम्भावना छ।

सह–महामन्त्री पदमा पनि आकांक्षीहरूको सूची लामो रहेको बताइएको छ। महिला कोटातर्फ क्रान्तिशिखा धिताल, टीका संग्रौला (ज्वाला) र कुसुम महर्जनको नाम चर्चामा छ भने खुलातर्फ शिशिर खनाल, रमेश प्रसाईं, असिम शाह, रोहन कार्की, प्रकाशचन्द्र परियार, खगेन्द्र सुनार र सागर ढकाललगायतको नाम अगाडि आएको छ।

पार्टीभित्र प्रभावशाली मानिने सांसद डा. तोसिमा कार्की र निशा डाँगी पनि पदाधिकारीको दौडमा रहेको चर्चा भए पनि उनीहरूले कुन पदमा दाबी गर्ने भन्ने अझ स्पष्ट भइसकेको छैन।

प्रस्तावित विधानअनुसार पहिलो चरणमा सभापतिसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट बाँकी पदाधिकारी चयन गरिने व्यवस्था गरिएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने तयारी छ। महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ भने स्वयंसेवक र पर्यवेक्षकसहित सहभागी संख्या चार हजारको हाराहारीमा पुग्ने पार्टीको आकलन छ।

पार्टी नेतृत्वले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको जनाएको छ। यसका लागि विभिन्न तहमा छलफल र समन्वयलाई तीव्र बनाइएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट