नेदरल्यान्ड्सलाई जापानले रोक्यो, रोमाञ्चक खेल २–२ को बराबरीमा सकियो
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ मा जापानले उत्कृष्ट पुनरागमन गर्दै उपाधि दाबेदार नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको छ। अमेरिकाको डालासस्थित एटीएन्डटी स्टेडियममा सम्पन्न खेलमा दुई पटक पछि परेको अवस्थाबाट फर्किँदै जापानले महत्वपूर्ण एक अंक सुरक्षित गरेको हो।
विश्व वरीयताको आठौं स्थानमा रहेको नेदरल्यान्ड्स र १८औं स्थानमा रहेको जापानबीचको खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक रह्यो। पहिलो हाफमा नेदरल्यान्ड्सले बलमाथि बढी नियन्त्रण कायम राखे पनि जापानी रक्षापंक्ति मजबुत देखिँदा दुवै टोली गोलरहित बराबरीमा विश्राममा पुगे।
दोस्रो हाफमा भने खेलले रोमाञ्चक मोड लियो। ५१औँ मिनेटमा कप्तान भर्जिल भान डाइकले कर्नरबाट आएको बललाई हेडमार्फत गोलमा परिणत गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए।
तर जापानले छिट्टै जवाफ फर्कायो। ५७औँ मिनेटमा केइटो नाकामुराले तीव्र काउन्टर अट्याकलाई सफल बनाउँदै खेल १–१ को बराबरीमा ल्याए।
६४औँ मिनेटमा युवा फरवार्ड क्रिसिएनसिओ समरभिलले आकर्षक गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ को अग्रता दिलाएपछि डच टोली जिततर्फ उन्मुख देखिएको थियो। तर अन्तिम समयमा जापानले पुनः संघर्षपूर्ण प्रदर्शन गर्यो।
निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा दाइची कामादाले डिबक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि खेल २–२ को बराबरीमा पुग्यो। कामादाको उक्त गोलले जापानलाई हारबाट जोगाउनुका साथै समूह चरणमा महत्वपूर्ण अंक दिलायो।
यस नतिजासँगै दुवै टोलीले प्रतियोगिताको पहिलो खेलबाट समान एक–एक अंक बटुलेका छन्।
नेदरल्यान्ड्स विश्व फुटबलको परम्परागत शक्तिशाली टोली मानिन्छ, जसले तीन पटक विश्वकप फाइनल खेले पनि उपाधि जित्न सकेको छैन। अर्कोतर्फ, जापानले पछिल्ला वर्षहरूमा विश्व फुटबलमा आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा स्थापित गर्दै आएको छ।
सोमबारको खेलले जापानको संघर्षशील मानसिकता र दबाबपूर्ण परिस्थितिमा नतिजा निकाल्ने क्षमता पुनः प्रमाणित गरेको छ भने नेदरल्यान्ड्सले अग्रता जोगाउन नसक्दा महत्वपूर्ण दुई अंक गुमाएको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया