ट्युनिसियामाथि स्वीडेनको शानदार जित
काठमाडौं । फिफा विश्वकप २०२६ मा स्वीडेनले ट्युनिसियालाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दे सानदार सुरुवात गरेको छ ।
समुह एफ अन्तर्गत सोमबार बिहान भएको मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक-गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले गोल गरे ।
यासिन अयारीले खेलको सातौं मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । ट्युनिसियन बुबा र मोरक्कन आमाबाट स्वीडेनमा जन्मेका अयारीले गोलको सेलेब्रेसन भने गरेनन् ।
अलेज्यान्डर इसाकले ३०औं मिनेटमा उत्कृष्ट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । भिक्टर ग्योकेरेले मध्यभागमा दिएको पासमा इसाकले बल एक्लै अगाडि बढाउँदै ट्युनिसियाका डिफेण्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे ।
तर ट्युनिसियाले पहिलो हाफमै गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको छ । ट्युनिसियाका लागि ओमार रेकिकले ४३औं मिनेटमा गोल गरे ।
हानीबल मेज्बरीको क्रसमा रेकिकले हेड मार्फत गोल गरेका हुन् ।
दोस्रो हाफमा स्वीडेनले दुई गोल थप्यो । भिक्टोर ग्योकेरेसले ५९औं मिनेटमा गोल गर्दै स्वीडेनलाई ३-१ को अग्रता दिलाएका थिए । त्यसपछि स्भानवर्गले ८६औं मिनेटमा स्वीडेनका लागि चौथो गोल गरे । सुरुमा असिस्ट्यान्ट रेफ्रीले अफसाइड देखाएपनि भिएआर रिभ्यु पछि मुख्य रेफ्री याएल फाल्कन पेरेजले गोलको मान्यता दिए । स्वीडेन यतिमै रोकिएन यासिन अयारीले दोस्रो हाफको इन्जुरी टाइमको छैटौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फराकिलो जित दिलाए ।
जितपछि स्वीडेनले ३ अंक जोडेको छ । यसै समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २-२ को बराबरी खेल्दै अंक बाँडेका थिए । नेदरल्यान्ड्सले र जापानले समान १ अंक जोडेको छ भने ट्युनिसिया अंकविहिन छ ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया