जर्मनीको विश्वकपमा शानदार सुरुआत, कुराकाओमाथि ७–१ को फराकिलो जित
काठमाडौं । चार पटकको विश्वकप च्याम्पियन जर्मनीले फिफा विश्वकप फुटबल प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुआत गरेको छ। समूह ‘इ’ अन्तर्गत अमेरिकाको ह्युस्टनमा सम्पन्न खेलमा जर्मनीले कुराकाओलाई ७–१ गोलअन्तरले पराजित गरेको हो।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको जर्मनीले छैटौँ मिनेटमै फेलिक्स एनमेचाको गोलमार्फत अग्रता बनाएको थियो। तर २१औँ मिनेटमा लिभानो कोमेनेन्सियाले गोल फर्काउँदै कुराकाओलाई खेलमा फर्काएका थिए।
बराबरीपछि थप आक्रामक बनेको जर्मनीले ३८औँ मिनेटमा निको स्लोटरबेकको गोलबाट पुनः अग्रता लियो। पहिलो हाफको इन्जुरी समयमा काई हाभाट्र्जले पेनाल्टीमार्फत गोल गरेपछि जर्मनी ३–१ को स्थितिमा विश्राममा गएको थियो।
दोस्रो हाफमा जर्मनीले खेलमाथि पूर्ण नियन्त्रण कायम राख्यो। ४७औँ मिनेटमा जमाल मुसिएलाले गोल गर्दै अग्रता फराकिलो बनाए। त्यसपछि ६८औँ मिनेटमा नाथनियल ब्राउन र ७८औँ मिनेटमा डेनिज उन्डाभले गोल थपेपछि जर्मनी ६–१ ले अघि बढ्यो।
खेलको ८८औँ मिनेटमा काई हाभाट्र्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीको ७–१ को शानदार जित सुनिश्चित गरे।
हाभाट्र्जले दुई गोल गरे भने फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे। कुराकाओका लागि लिभानो कोमेनेन्सियाले सान्त्वना गोल गरेका थिए।
यो जितसँगै जर्मनीले प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोड्दै समूह ‘इ’ को शीर्ष स्थानमा बलियो दाबेदारी प्रस्तुत गरेको छ। प्रतियोगिताको सुरुआतमै देखिएको जर्मनीको आक्रामक प्रदर्शनले उपाधि यात्राप्रति समर्थकहरूको आशा थप बलियो बनाएको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया